पापी पेट !

पापी पेटको सवाल छ। आफ्नो माँगी खाने भाँडो नभए पछि अरु उपाय भनेको:  कित अरुको भाँडो चोर्नु पर्यो (अपराधी क्रियाकलाप) कित अरुको भाँडो सापटी लिनु पर्यो (अहंकारको दृष्टीकोणले अलिककति निच कार्य भए पनि अपराधको मुद्दा चाँही नलाग्ने, कम जोखिम भएको क्रियाकलाप)। तर, सापटी लिएको वस्तुको पनि श्रोत के हो, कसको बाट सापटी लिएको हो भनेर खुलाशा नगरेमा आफ्नो हो भनेर दावा गरेको बुझिन्छ र मौलिक/वास्तविक मालिकबाट चोरीको मुद्धा लाग्ने सम्भावना हुन्छ।

बिधिवतनै सापटीमा लिएको भए पनि त्यो भाँडो को अस्तित्व के हो? अर्थ के हो ? प्रयोग कसरि हुन्छ भनेर अलिकति सोच र अनुसन्धान गर्नु पर्ने कर्तब्य चाँही त्येसको प्रयोगकर्ताको अबस्य पनि हुन्छ। एक सभ्य समाजमा त अझ यो को बाट सापटी लिएको हो भनेर खुलाउनु आफ्नो कर्तब्य मात्र नभएर बैधानिक ठानिन्छ र क्रेडिट दिनु, आभार प्रकट गर्नु सहि र नैतिकता ठहरिन्छ। अनि श्रोताहरुलाई जिज्ञासा भएमा थप जानकारीको लागि सन्दर्भ (reference) पनि दिइन्छ।

अर्थै नबुझिकन, सहि ढंगले प्रयोग भएन भने कुनै पनि कुराको प्रयोगको औचित्य के नै रहन्छ र ? गलत तरिकाले प्रयोग गर्नाले त्येसको अनर्थ मात्र नभएर उल्टो अर्थ पनि लाग्न सक्छ। फलस्वरूप प्रयोगकर्ता एक पट मुर्ख ठहरिएर हाँसोको पात्र बन्न पुग्छ। त्यति मात्र नभएर उसले सापटी लिंदा खेरि गरेको सम्झौताको दायित्व तोडेको पनि ठहरिन्छ। अनि मौलिक/वास्तविक मालिक माथि अपमान गरेको अपराध सावित हुन्छ।

1. अर्कोले घोडा चढेको देखेर धुरी चढ्नु ?

अरुको कुनै चिज छ भन्दैमा आफ्नो पनि हुनु पर्छ भन्ने केहि छैन। संसारमा आफ्नो लिपि, भाषा, भेष-भुषा, कला-संस्कृति नभएका वा भएर पनि लोप भैसकेका कति समुदायहरु छन्। छैन त के भयो? न त यी समुदायहरु अरु भन्दा साना/असभ्य/अविकसित ठानिन्छन न त ठुला/सभ्य/विकसित नै। भाषा, लिपि, भेष-भुषा, कला-संस्कृति इत्यादी भनेका त हजारौं बर्षको एक समुदायको विकासक्रमको फल हो। केहि कुरा सापटी लिने, अलिकति अर्कोको नक्कल गर्ने, अलिकति चोर्ने अनि आजको भोलि कपोल कल्पित इतिहाँस र सभ्यताको सिर्जना गरेर आखिर पाउने उपलब्धिचाँही के त? यसरि कपोल कल्पित सिर्जना गरेको इतिहाँस र सभ्यताको औचित्य के त?

आज भोलि सामाजिक संजालमा लिम्बु समुदायले हाम्रो संस्कृति/पहिचान (लिपि, भाषा, सिलाम साक्मा, भेष-भुषा इत्यादी) माथि अतिक्रमण भयो भनेर जताततै आवाज उठाइरहेको पाइन्छ।  कतै कतै त राईहरुले चोर्यो भनेर सिधै आरोप लगाएको पनि पाइन्छ र यी बिसयमा चर्को, चर्को बाद-विवाद भएको सामाजिक संजालमा सर्बत्र पाइन्छ।

महत्वाकांक्षा राख्नु, अरुबाट सिकेर आफ्नो विकास गर्नु स्वाभाविकै हो र गर्नु पर्छ पनि। तर अर्कोले घोडा चढेको देखेर आफुले धुरी चढ्नु कतिको उचित छ भनेर सोच्ने चाँही आफैले हो। अझ शताब्ती देखिनै के कसको हो भनेर दुनियालाई थाहा भएको अर्कोको पहिचान जन्य कुरा (भाषा, लिपि, भेष-भुषा, कला-संस्कृति इत्यादी) कुनै ऐतिहासिक, बैज्ञानिक आधार/प्रमाण नै बिना आफ्नो मृगतृष्णाको सिकार बनेर हाम्रो हो भनेर दावी गर्नु भनेको आफ्नो पाखेपन देखाएर संसारको सामू जोकर बनि हाँसोको पात्र बन्नु मात्र हो।

2. चलचित्र “लुङा”

बजारमा आउन लागेको लिम्बु संस्कृतिमा आधारित नया फिल्म “लुङा” येस्तै  विवादको एउटा बिषय बनेको छ अहिले!

मानिसले एक पेट खान र एकसरो कपडाले आफ्नो सरिर ढाक्न आ-आफ्नो इच्छा, अवसर, खुबी अनुसार एक न एक कर्म त गर्नु पर्छ नै। तर आफ्नो कर्मको दौडानमा इमान्दारिता देखाउने, सत्य-तथ्य पस्कने अनि अरुलाई नकारात्मक असर नपरोस भनेर सोच्ने कर्तब्य भने एक असल व्यक्तिले कहिल्यै भुल्नु हुँदैन।

यदि स॓चार माध्यमहरूमा लेखिएझै लिम्बु समुदायमा चलाइने लुङा सब्द सोल्टी/सोल्टीनीको अर्थमा प्रयोग भएको छ भने यो “लुङा” फिल्म बनाउने क्रममा भने यस्को ठिक बिपरित भएको पाइन्छ। “लुङा” सब्द लिम्बुहरुको भाषाबाट सापटी लिएर माँगी खाने भाँडो बनाइएको तर सोच र अनुसन्धानको कमीले उचित ढंगले प्रयोग नगरेर लिम्बु समुदायको सद्भाव खल्बल्याएको पाइएको छ। जसले गर्दा लिम्बु समुदायका पहिचानवादीहरुले यस्तो गैर जिम्मेवार कार्य प्रति घोर आपति जनाईरहेका छन। र उनीहरुले अन्य जात जातीहरुले लिम्बू भाषा, संस्कार, संस्कृति प्रयोग गरेर गीत संगीत, म्युजिक भिडियो, नाटक, चलचित्र निर्माण गर्नेको संख्या बढीरहेको अवस्थामा लिम्बू जातिको इतिहास, सभ्यता, भाषा, लिपि, संस्कार, संस्कृति, परम्परा, रीतिरिवाजको तोड्मोड नगर्न, कुनै सब्दको गलत अर्थ नलगाउन अनुरोध का साथै खबरदारी पनि गर्दै आएका छन्।

3. सम्मान गर्न सिकौं

एक समुदायको पहिचानले नै आफ्नो समुदायको परिभाषा दिन्छ।  यही पहिचानले नै आफुलाई अरूबाट अद्वितीय ठान्दछ। मानिस एक जिज्ञासा राख्ने प्राणी भएकैले पनि एक समुदायको मानिसले अर्को समुदायको भाषा, संस्कृति आदि-इत्यादिमा स्वभावैले चासो राख्दछ। किनकि एक समुदायको भेष-भुषा, भाषा, कला-संस्कृति आदि बाट अर्को समुदायले अनेकौं ज्ञान लिन सक्छ, सिप सिक्न सक्छ, मनोरंजन लिन सक्छ।

अर्को समुदायको भाषा, लिपि, भेष-भुषा, कला-संस्कृति प्रयोग गर्न अवस्य पाइन्छ तर त्येसको उचित ढंगले सहि अर्थमा प्रयोग गरिनु पर्छ। त्यो कुन समुदायको हो भनेर बुझ्न पर्छ र त्येस्लाई आफ्नो भनेर दाबी नगरी त्येसको मौलिक नाम र सिर्जनाकर्तालाई संम्मान गर्नु पर्छ। मलाई अंग्रेजी भाषा, लिपि अतिनै उपयोगी छ। चलाउन मन पर्छ अनि बारम्बार चलाउछु पनि। तर मन पर्यो भनेर नाम बिगारेर “English” लाई “नेंग्लिश” बनाई मेरो भाषा भनि दाबी गर्नु त कहाँसम्मको मुर्ख्याई हो त? यो कुरा भेष-भुषा, भाषा, कला-संस्कृति इत्यादी सबै कुरामा लागु हुन्छ। पहिचान अङ्गित गर्ने बस्तुहरु त कालान्तर देखि समुदायको विकासक्रम संगै विकसित हुँदै आएका कुरा हरु हुन्। आजको भोलि कपोल कल्पित इतिहाँस रचेर हुन्छ र? अलिकति फेर बादल गर्ने अनि मेरो हो भन्ने? कसले पत्याउने ? कसले मान्यता दिने ? बरु चोरको संज्ञा दिन्छन!

आजको आधुनिक, सभ्य समाजमा एक समुदायले अर्को समुदायको पहिचानलाई स्वीकार मात्र नभएर आदर र सम्मान गर्ने गरिन्छ। तसर्थ, नेपालका समुदायहरुले पनि एकले अर्को समुदायको पहिचानलाई, स्वीकारेर आदर र सम्मान गरेमा एक अर्काबीच वाद-विवादको अन्त्य र अर्को समुदायबाट चोरीको आरोप नलागी आफ्नो समुदायको इज्वत पनि बच्नेछ।

4. विकृति

चलचित्र एउटा मनोरञ्जनको स्रोत मात्र नभएर यस्ले समाजको, समुदायको यथार्थलाई पनि चित्रण गरेको हुन्छ। तसर्थ, कुनै पनि फिल्म बनाउँदा होस् या अरुनै कलात्मक सिर्जना गर्दा होस, असल सोच र राम्रो अनुसन्धान गर्न जरुरि हुन्छ। बिसेष गरेर एक समाजको/समुदायको कथामा आधारित फिल्ममा त झन् सत्य/तथ्यहरुले कतिको महत्व राखेको हुन्छ भनेर सायद कसैले भनिरहनु पर्दैन होला जस्तो लाग्छ।

तर जब एक फिल्म को Title को अर्थनै गलत रुपमा प्रयोग भएपछी त्येस्तो गलत अर्थबाट सुरु भएको कहानीको औचित्य के हुन्छ ? दर्शकहरुले त्येस्तो गलत अर्थ बोकेको चलचित्र हेरेर पाउने ज्ञान, अनुभव, धारणा, भावना नै आखिर के त? दर्शकहरुले भोलि लिम्बु समुदायमा गएर “लुङा” भनेर सम्बोधन कसलाई गर्ने? “लुङा” हेरेर एक दर्शकको सामाजिक ज्ञान बढ्छकि झन् अन्योलमा पर्छ?

“लुङा” चलचित्रले दर्शकहरुमाँझ मनोरंजन, ज्ञान पस्कनुको सट्टा “लुङा” सब्दकै गलत र भ्रामिक अर्थ दिएर लिम्बू समुदायको सद्भाव खल्बल्याई एक विकृति फैल्याएको छ।

अयोग्य वा गैरजिम्मेवारी ?

दर्शकहरुको माँझ आफ्नो सिर्जना पस्कंदा मनोरन्जनका साथमा सत्य/तथ्य कुराहरु सत्य/तथ्यकै रुपमा समाबेश गरिन जरुर हुन्छ। अन्यथा दर्शकहरुको माँझ आफु एक अयोग्य र गैरजिम्मेवार सावित हुन्छ। हेलचेक्राई गरेर दर्शकको आँखामा छारो हानेको पुस्टि हुन्छ।

यो “लुङा” चलचित्रको बारेमा तपाई के भन्न चाहनु हुन्छ ? तपाइको आफ्नो दृष्टिकोण तल अवस्य लेख्नु होला!

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.